पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 22:51:31
  • आइतबार,जेठ २४, २०८३
  • पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

    पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

    काठमाडौँ– नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनायो।

    नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६२ रनको योगदान गरे। आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे। कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए। भीम सार्कीले १७ रन बनाए। पवन सर्राफ १५ रनमा आउट भए।

    नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे। रिजन ढकालले चार रन जोडे। उनी नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए। इश्वर सोहीले साहिद अहमदजाईद्वारा क्याच गराए।

    सूर्य तामाङले ३२ बलमा अविजित १० रन बनाए। ललित राजवंशी अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेटका रुपमा पेभेलियन फर्किए। उनले एक रन बनाए। उनी रनआउट भएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्य र रिजनको यो ‘डेब्यू’ खेल हो।

    नेपालले अतिरिक्त रुपमा १४ रन पायो। क्यानडाका बलर उदय भगवानले तीन विकेट लिए। साद बिन जाफर र ईश्वरजोत सोहीले दुई–दुई विकेट हात पारे। साहिद अहमदजाई र हर्ष ठाकेरले पनि एक–एक विकेट लिए।

    त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए। ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो। विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए।

    नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो। उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए। रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए। उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए। रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो।

    नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो। उनी ६२ रन बनाउँदै आउट भएका थिए। उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए। कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए।

    कुशल भुर्तेल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन्। कुशल भुर्तेलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए। जाफरले उनलाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए। १८.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो।

    नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो। उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए। उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए। २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो।

    नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो। उनी ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए। हर्ष ठाकरले लिए। ठाकरले उनलाई निकोलस किर्टनद्वारा क्याच गराएका थिए। २९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४१ रन बनाएको थियो।

    नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो। उनी ३८ रन बनाउँदै आउट भएका थिए। उनले ५० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए। उनलाई क्यानडाका बलर उदय भगवानले बोल्ड गरेका थिए। ३८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो।

    नेपालले सातौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो। उनी ३४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए। उनलाई क्यानडाका बलर साहिद अमहदजाईले एलबीडब्लूको धरापमा पारेका थिए। ४१।१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो।

    नेपालले आठौँ विकेटका रुपमा सामपाल कामीलाई गुमाएको थियो। उनी २७ रन बनाउँदै आउट भएका थिए। उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए। उनलाई क्यानडाका बलर उदय भगवानले परगत सिंहद्वारा क्याच गराएका थिए। ४८.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १८ रन बनाएको थियो।

    क्यानडाविरुद्धको पहिलो खेलमा नेपालका दुई ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ । नेपाल र क्यानडाबिचको दोस्रो खेल शनिबार खेलिने छ।