नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु - Chaitanya News
  • 2026-08-01
  • 15:05:27
  • शनिबार,साउन १६, २०८३
  • नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु

    नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु

    काठमाडौँ– नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ। टीयु क्रिकेट मैदानमा खेल बिहान ९–१५ सुरु हुनेछ।

    नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन्। नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ। यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ।

    नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्न सक्ने सम्भावना छ ।

    उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ। नेपालले प्रमुख स्पिनरको रूपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ। तीव्र गतिका बलरमा सोमपाल कामी र रिजन ढकालको सम्भावना छ।

    नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ। प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ। नियमित ओपनर आसिफ शेखलाई विश्राम दिन सक्छ। तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन्।

    कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन्। पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन्। दीपेन्द्रले बलिङ आक्रमण पनि सम्हाल्नेछन्। दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन्।

    उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुबिधा छ। कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन्। बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन। ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन्। उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।