गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी बन्ने सम्भावना - Chaitanya News
  • 2026-04-26
  • 09:46:22
  • आइतबार,बैशाख १३, २०८३
  • गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी बन्ने सम्भावना

    गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी बन्ने सम्भावना

    काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री खगराज अधिकारी अहिले कास्की कास्की–१ ‘क’को प्रदेश सभामा उम्मेदवार छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राम्रै निकटता भएका अधिकारी किन प्रदेशमा उम्मेदवार बने भन्नेमा धेरैले अचम्म माने। छोटो समयका लागि भए पनि गृहमन्त्री भइसकेका व्यक्ति पार्टीले निर्वाचनमा राम्रो नतिजा ल्याएको खण्डमा पुनः केन्द्र सरकारको राम्रै मन्त्री बन्ने सम्भावना भए पनि उनी प्रदेशमा निर्वाच्न लडेका छन्।

    एमालेले अधिकारीलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सारेको छ। त्यसो त गण्डकीको मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएका थिए। तर, पार्टीले उनलाई लमजुङबाट प्रतिनिधिसभामा उम्मेदवार बनाइसकेको छ। गण्डकी प्रदेशमा एमालेको चुनावी नतिजा राम्रो आएको खण्डमा खगराजलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ।

    गण्डकीमा लामो समयदेखि अधिकारी र उपमहासचिव​ गुरुङबीच गुटगत लडाइ चल्दै आएको थियो। दुईबीच ०७४ सालको स्थानीय तहको निर्वाचनदेखिनै शक्ति संघर्ष चल्दै आएको हो। त्यसको असर गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि देखियो।

    पछिल्लो अवस्थामा गुरुङ र अधिकारीको सम्बन्धमा सुधार आएको बताइन्छ। पार्टीको निर्देशनअनुसार नै अधिकारी प्रदेश सभामा र गुरुङ प्रतिनिधिसभामा उम्मेदवार बनेका छन्।

    तुलनात्मक रुपमा गण्डकी प्रदेश एमालेको बलियो प्रदेश मानिन्छ। तर, माओवादी, कांग्रेस, जनमोर्चालगायत दलले गठबन्धन बनाएर अघि बढेका कारण एमालेका सोचेजस्तो सहज नहुन सक्छ। त्यसैले एमाले नेताहरुलाई आन्तरिक विवादलाई थाती राखेर विपक्षीविरुद्ध एकजुट भएर अघि बढ्नुको विकल्प छैन।

    त्यसमा गुरुङ र अधिकारी दुवैजना सचेत देखिन्छन्। अधिकारीलाई गण्डकीको मुख्यमन्त्री र गुरुङलाई केन्द्र सरकारमा सहभागी गराउने गरी एमाले अध्यक्ष ओलीले दुई नेताबीचको मतभेद अन्त्य गराएको एमालेवृत्तमा चर्चा छ।