बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले नेपालको लोकतन्त्र अझै सङ्कटमा रहेको बताएका छन।
आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा घरदैलो सकेपछि पाँच दलीय गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले जित्नुपर्ने उल्लेख गरे।
नेकपा (एमाले) प्रतिगामी शक्ति भएको टिप्पणी गर्दै प्रतिगमनमा छिमेकी राष्ट्र भारतले सहयोग गरेको आरोप लगाउनुभयो। ‘हाम्रो लोकतन्त्र मास्ने र राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको छ’ उनले भने, ‘मङ्सिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनबीचको निर्णय लडाइँ भएको उल्लेख गरे।’
उनले नेकपा (एमाले)ले गरेको गठबन्धन गणतन्त्र विरोध शक्ति भएको उल्लेख गरे। वर्तमान गठबन्धनसँग धेरै विषयमा असहमत भए पनि संविधान बचाउने मुद्दा मात्रै सहमतिको बिन्दु भएको उनले उल्लेख गरे। निर्वाचन पश्चात् पनि स्थिर सरकारको लागि वर्तमान गठबन्धन कायम रहने बताएका थिए।
कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) का उम्मेदवार दीपेन्द्र थापाले निर्वाचनले जनतामा उत्साह थपेको उल्लेख गरे।
प्रदेशसभा (ख) का उम्मेदवार डिल्लीराम सुवेदीले मतदान नागरिकका दायित्व भएको हुँदा निर्वाचनको उत्सवमा सहभागी हुन मतदातालाई आग्रह गरेका थिए। ‘पार्टी रोज्ने र मत राख्ने मतदाताको अधिकार हो’, उनले भने, ‘मतदान गर्ने दायित्व नागरिकले पुरा गर्नुपर्छ।’