मकवानपुर– बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ। आज ( मंगलबार) बसेको बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौता अनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत बेहोर्न सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएका हो। महानगरपालिकासँगको सम्झौता अनुसार प्रदेश सरकारले रंगशालाका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए।
गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो। महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए। बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशालाको निर्माण कार्यको लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगले माग गरे अनुसार संघीय समपूरक र विशेष अनुदानको लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले समपूरक र विशेष अनुदानका लागि १०÷१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरूको भुक्तानी दिने निर्णय गरेको छ। मुख्यमन्त्री जम्कट्टेलका अनुसार अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरूको भुक्तानी दिने निर्णय भएको हो। केही प्रक्रियाहरू पुरा गर्नु परेको कारण निर्माण कार्यको भुक्तानी गर्न ढिलाइ भएको र हाल सो बापतको रकम भुक्तानी दिने काम अघि बढाइएको उनको भनाइ छ।