सुकुमबासी बस्तीलाई तत्काल हटाउनु हुँदैन,यो काम निर्वाचन आचारसंहिता विपरीतहुन्छ : नेता सिंह - Chaitanya News
  • 2026-04-26
  • 07:19:09
  • आइतबार,बैशाख १३, २०८३
  • सुकुमबासी बस्तीलाई तत्काल हटाउनु हुँदैन,यो काम निर्वाचन आचारसंहिता विपरीतहुन्छ : नेता सिंह

    सुकुमबासी बस्तीलाई तत्काल हटाउनु हुँदैन,यो काम निर्वाचन आचारसंहिता विपरीतहुन्छ : नेता सिंह

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृती नगरको बस्तीमा बिहीबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए।

    यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती मंसिर ४ गतेभित्र हटाउन सूचना जारी गरेको थियो।

    बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘वागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ।’

    अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुमबासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए।

    आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरे।

    सुकुमबासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु।’

    उनले भूमिहीन र सुकुमबासीहरुको समस्याको समाधान आफूहरुले मात्रै गर्ने सक्ने जिकिर समेत गरे। कुन चाहिं उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर कांग्रेसलाई मंसिर चार गतेका दिन रुख चिन्हमा मतदान गर्न आह्वान गरे।