काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा युवा तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भयो। कोशीका मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाए।
कप्तान अङ्कित सुवेदी २७ बलमा ३ चौकासहित २२ रन बनाए। ओपनर समिर कार्की ४ रनमै रन आउट भएका थिए।
दोस्रो विकेटका लागि अङ्कित र मिनाषले ३६ रनको साझेदारी गर्दा ६०–१ को अवस्थामा थियो।
आग्रीको बलमा मिनाष गल्लीमा खराब सट खेल्दै आउट भएपछि लगातार विकेट गुमाएको थियो ।
सुजन थपलिया ३ र सोनु अन्सारी ९ रनमा आउट भए । शीर्ष चार विकेट विकाशले लिएका थिए। त्यसपछि शेर मल्लले कोशीको मध्यक्रम ध्वस्त पारे। सुभन गहतराज ५ र फिर्दो अन्सारी १३ रनमा मल्लको बलमा बोल्ड आउट भए।
त्यसपछि मल्लले भुपाल लुइँटेल १ र अभ्यास तिमिशिना ५ रनमा मल्लको बलमै बोल्ड भएका थिए।
कमल खत्री ८ बलमा ३ छक्कासहित १८ रनमा क्याच आउट भए । सुदूरका शेर मल्लले ६ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए। विकाश आग्रीले ७ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए।