प्रधानमन्त्री कपमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 15:21:28
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कपमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

    प्रधानमन्त्री कपमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

    काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ बलियो लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो।

    बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले। उनको यो करिअरको पहिलो शतक हो।

    बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औँ ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए।

    आशुतोषले शतक अघि महत्त्वपूर्ण एक जीवनदान पाएका थिए।

    चोभार एन्डबाट आएका कमल खत्रीको दसौँ ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए। त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हाने।

    आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए। त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो।

    लेग स्पिनर हेमन्त राईलाई ३३ औँ ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए। लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे।

    बागमतीलाई ओपनर ईशान पाण्डे र आशुतोषले ५.१ ओभरमा २८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए।

    ईशान ६ रनमा कमलको बलमा मिडअनमा भूपाल लुईटेलबाट क्याच आउट भएका थिए।

    त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे। रित बायाँ हाते बलर अभ्यास तिमिशिनाको बलमा एज लागेर विकेटकिपर सोनु अन्सारीबाट क्याच आउट हुन पुगे। रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए।

    विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए। ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए।

    विपिन आचार्य र सूर्य तामाङले ९–९ रन बनाए। बागमती ४० ओभरमा २३०–४ को अवस्थामा थियो। त्यसपछि बाँकी ८.३ ओभरमा ४३ रन बनाउन ६ विकेट गुमाएपछि ३ सय माथिको विशाल योगफल बनाउने अवसर गुमाएको थियो।

    कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। कमल खत्रीले ९।३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए। हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए। फिर्दोस अन्सारीले १ विकेट लिए।