प्रधानमन्त्री कप: एपीएफमाथि मधेस प्रदेशको रोमाञ्चक जित - Chaitanya News
  • 2026-06-07
  • 15:21:07
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कप: एपीएफमाथि मधेस प्रदेशको रोमाञ्चक जित

    प्रधानमन्त्री कप: एपीएफमाथि मधेस प्रदेशको रोमाञ्चक जित

    काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा मधेस प्रदेशले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

    जारी प्रतियोगितामा चौथो खेल खेलेको मधेस प्रदेशको यो दोस्रो जित हो। यसअघि दुई खेलमा मधेस प्रदेश पराजित भएको थियो। हालसम्म तीन खेल खेलेको एपीएफ क्लबको भने यो पहिलो हार हो। एपीएफ क्लब यसअघि दुई खेलमा विजयी भएको थियो।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रन बनाएको थियो। ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले ४८ ओभरमा केवल पाँच विकेट गुमाएर जित हासिल गरेको थियो।

    मधेस प्रदेशका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। चौथो नम्बरका ब्याट्सम्यान पवन सर्राफले टोलीका लागि ६४ रनको योगदान गरे। उनले केवल ६६ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काएका थिए।

    पाँचौँ नम्बरमा क्रिज समाल्न आएका निरज यादवले पनि टोलीका लागि ५२ रनको महत्त्वपूर्ण योगदान गरेका थिए। लामो समय क्रिजमा सँघर्ष गरेका उनले ७० बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए।

    यसैगरी छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले पनि टोलीका लागि अविजित ७२ रनको योगदान गरे। उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ७२ बलमा तीन छक्का र चार चौका पनि प्रहार गरेका थिए। अभिषेक तिवारी १३ रनमा अविजित रहे।

    मधेस प्रदेशका लागि ओपनर अनिल शाहले पनि २९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अनिलले ५० बलमा दुई चौका पनि हिर्काए। अर्का ओपनर मयान यादव भने दुई रनमा आउट भएका थिए। कप्तान हरिशंकर शाह आठ रनमा पेभेलियन फर्किएका थिए। मधेस प्रदेशले अतिरिक्त रुपमा केवल सात रन पाएको थियो। एपीएफ क्लबका बलर रोहित पौडेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए । मौसम ढकालले पनि एक विकेट हात पारे।

    त्यसअघि माथिल्लो क्रमका दुई ब्याट्सम्यानले आकर्षक अर्धशतकीय पाली खेलेपछि एपीएफ क्लबले ठूलो योगफल तयार पारेको थियो। टोलीको खाता खुल्नुअघि नै पहिलो विकेट गुमाएको एपीएफ क्लबका लागि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बरका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतकीय पाली खेलेका थिए।

    यी दुई ब्याट्सम्यानले टोलीका लागि एक सय ३२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ५९ रन बनाए। यसक्रममा उनले ६९ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काएका थिए।

    कप्तानसमेत रहेका रोहित पौडेलले पनि टोलीको खातामा ५८ रन थपेका थिए। उनले ७४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए। ओपनर ब्याट्सम्यान प्रज्ज्वल शाही भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए।

    तल्लोक्रमका ब्याट्सम्यान अमर रौतेलाले भने केवल एक रनका कारण अर्धशतक बनाउनबाट चुकेका थिए। उनले टोलीको खातामा अविजित ४९ रन थपे। आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५७ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए।

    सुमित महर्जन नौ रनमा आउट भए भने सन्दीप जोराले टोलीको खातामा २० रन थपे। उनले २२ बलमा एक छक्का र एक चौका पनि हिर्काए। लोकेश बम भने ६ रन बनाउँदै आउट भएका थिए। अविनाष बोहरा आठ रनमा अविजित रहे।

    एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो। मधेस प्रदेशका बलर प्रदीप पासवान र रुपेश सिंहले तीन–तीन विकेट लिए। रंजित कुमारले पनि दुई विकेट हात पारे। अरनिको यादवले एक विकेट लिए।