काठमाडौं–प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा इण्डोनेसियाको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री मोदीले बुधबार विश्वका सात नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले इण्डोनेशिया, स्पेन, सिङ्गापुर,जर्मनी, इटाली, अष्ट्रेलिया र संयुक्त अधिराज्यका सरकार÷राष्ट्रप्रमुखसँग द्विपक्षीय समझदारी गर्ने कार्यक्रम छ। जी ट्वेन्टीको शिखर बैठकमा भाग लिने क्रममा उनी इण्डोनेसियाको तीनदिने भ्रमणमा रहेका छन्।
त्यसअघि प्रधानमन्त्री मोदीले समूहको अध्यक्षता ग्रहण गर्दै जी ट्वेन्टीलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने तथा त्यसलाई समावेशी, महात्वाकांक्षी, निर्णायक एवम् कार्यउन्मुख बनाउने दृढता व्यक्त गरेका थिए।