काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ। जारी प्रतियोगितामा आफ्नो चौथो खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो।
दुई खेलमा भने बागमती प्रदेश पराजित भएको थियो। दोस्रो खेल खेलेको आर्मी क्लबको भने यो पहिलो हार हो। यसअघि खेलिएको आफ्नो पहिलो खेलमा आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनले हराएको थियो।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ४३ मध्ये २७।१ ओभरमै अलआउट हुनुअघि ९७ रनमात्र बनाउन सकेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २२.१ ओभरमै सात विकेट गुमाएर एक सय तीन रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो।
बागमती प्रदेशको जितमा आकाश पौडेलले २१ रनको योगदान गरे। पाँचौँ नम्बरका ब्याट्सम्यान अशोकले ३० बलमा एक छक्का र दुई चौका पनि हिर्काए। तल्लोक्रमका ब्याट्सम्यान प्रतिश जिसीले पनि टोलीको खातामा अविजित २१ रन थपे। उनले २४ बलमा एक छक्का र एक चौका हिर्काए।
यसैगरी विपिन आचार्यले १० रन बनाए। विकेटकिपर ब्याट्सम्यान रोविन जोशीले १२ रन बटुलेका थिए। ओपनर ब्याट्सम्यान ईशान पाण्डेले पनि टोलीको खातामा १२ रन थपेका थिए। कप्तान रित गौतम भने चार रन बनाउँदै पभेलियन फर्किएका थिए।
बागमती प्रदेशले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो। आर्मी क्लबका बलर सोमपाल कामीले तीन विकेट लिए। उनले सात ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए। साहब आलम र जितेन्द्र मुखियाले पनि दुई–दुई विकेट लिए।
त्यसअघि आर्मी क्लबका तीन ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेका थिए। कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए। पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी चार चौका हिर्काएका थिए।
भीम सार्कीले टोलीको खातामा १८ रन थपे। तल्लोक्रमका ब्याट्सम्यान विवेक यादवले अविजित ११ रन जोडे। ओपनर इमरान शेख पाँच र सन्तोष कार्की नौ रनमै पभेलियन फर्किएका थिए। दुई अनुभवी खेलाडी सोमपाल कामी र कुशल मल्लले त खातासम्म खोल्न सकेनन्।
बागमती प्रदेशका बलर सूर्य तामाङ एक्लैले पाँच विकेट लिए। उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २६ रन खर्चिएका थिए। रिजन ढकाल र प्रतिश जिसीले पनि दुई–दुई विकेट हात पारे। कृजन गुरुङले पनि एक विकेट लिए।