माघी पर्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली - Chaitanya News
  • 2026-05-25
  • 08:53:20
  • सोमबार,जेठ ११, २०८३
  • माघी पर्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली

    माघी पर्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली

    काठमाडौँ– थारु राष्ट्रिय समाजले माघी पर्वको अवसरमा काठमाडौँमा झाँकीसहितको र्‍यालीको आयोजना गरेका छन्। र्‍याली बसन्तपुरदेखि टुँडिखेलमा पुगेर समापन गरिएको थियो।

    थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।

    माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ।

    बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन्। यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ।