निदाएको समयमा श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ। यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगै भएको अर्को मानिसलाई बढी असर पुर्याउँछ। अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन्।
किन घुर्छ मानिस?
चिकित्सकका अनुसार स्वास्थ्यको हिसाबले हेर्ने हो भने पनि घुर्नुलाई राम्रो मानिँदैन। यसले स्वास्थ्यमा दूरगामी असर पार्न सक्छ।
राति या दिउँसो निदाएको बेलामा घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ। तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ।
यसबाट छुटकारा पाउन के गर्ने?
धेरै मानिसहरू उत्तानो परेर सुत्दा धेरै घुर्ने गरेको विभिन्न अध्ययनहरूले बताएका छन्। त्यसैले कोल्टे परेर सुत्ने गर्दा यो समस्या कम हुँदै जान्छ।
यसका अलावा अत्यधिक धूमपान, मद्यपान र लागूऔषधबाट टाढा रहने, सुत्नुभन्दा ३ घण्टा अगाडि नै खाना खाने, खानामा कम मसला, चिल्लो, पिरो खाने।
यस्तै, नियमित रूपमा व्यायाम र प्रशस्त मात्रामा पानी पिउने, शरीरमा भएको मोटोपना घटाउने, राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट हावा आवतजावत हुने गरी वातावरण बनाएर सुत्ने गर्नु पर्दछ।
समस्या समाधानका अन्य उपाय यस्ता छन्
१. एक कप मनतातो पानीमा एक चम्चा बेसार र मह मिलाएर राम्ररी घोल्नुहोस्। प्रत्येक रात सुत्नुभन्दा अघि यसलाई पिउनुहोस् र यसले केही दिनमा नै असर गर्न सुरु गर्दछ।
२.प्रत्येक सुत्नु पूर्व मनतातो पानीमा इलायची वा यसको धुलो मिलाएर पिउनुहोस्। यसले पनि निद्रामा घुर्ने बानीलाई दूर गर्न मद्दत गर्दछ।
३. बेसारलाई धेरैजसो समस्याको रामवाण मानिन्छ । प्रत्येक रात सुत्नुभन्दा अघि दूधमा बेसार मिलाएर पिउँदा पनि घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।
४. सुत्नु अघि मनतातो पानीमा पुदिनाको तेलको केही थोपा राखेर कुल्ला गर्नुहोस्। यसो गर्दा नाक बन्द भएको ठीक हुन्छ र सास लिन पनि सहज हुन्छ।
घुर्ने समस्या धेरै नै भयो भने चिकित्सकको सल्लाह र परामर्श लिनु जरुरी छ।