काठमाडौं– नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्।
मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त गरेका हुन्।
मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन्। उनी हाल कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन्।
आई लिगमा आवद्ध हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन्। उनलेआई लिग उपाधि पनि जितेका छन्।
मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए।
विराटनगरका उनले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेले।
मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए। उनले नेपाली यु–१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन्।