काठमाडौं– पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन्।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरिन्। उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए। अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।
त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ ९.(क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि गठबन्धनका उम्मेदवार लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए। चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिँडेको आरोप लगाउँदै उनले आचांरसंहिता उल्लघंन भएको बताए। प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दाबी गरे।
यस्तै नेकपा एमालेकी नेतृ एवम पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दाबी गरिन्। निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।