काठमाडौँ– काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा स्थगित भएको छ। कार्यपालिका बैठकको निर्णय अनुसार बुधवारका लागि तय भएको नगरसभा स्थगित भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। अन्तिम समयमा आएर आजको नगरसभा स्थगन भएको हो।
प्रवक्ता मानन्धरका अनुसार नगरसभा हुनु ४८ घण्टा अगाडि टुङ्गाउने पर्ने बजेटको विषय नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु परेको हो। उनले भने, ‘बजेट, नीति तथा कार्यक्रम र ऐनहरू टुङ्गाएर ४८ घण्टा अगाडि सभासदहरुलाई उपलब्ध गराउनु पर्ने रहेछ। त्यतातिर ध्यान पुगेन छ। यो नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु पर्यो। आज हामीले यसलाई टुङ्गो लगाएका छौँ।
अर्कोतर्फ सभागृहमा नगरसभा गर्नका लागि अन्य केही प्राविधिक कठिनाइ देखिएको महानगरले जनायो। शुक्रवार र शनिवार सार्वजनिक बिदा परेकोले आइतबार नगरसभा गर्ने सम्भावना रहेको मानन्धरले जानकारी दिए। आइतबार सभागृह प्याक भएकाले अर्को स्थानमा नगरसभा गर्नुपर्ने स्थिति आएको उनले बताए। ठाउँ तय नभएका कारण नयाँ मिति पनि नतोकिएको उनले बताए।
प्रवक्ता मानन्धरले तयारी नपुगेर नगरसभा स्थगित भएको जानकारी दिए पनि नगरसभा स्थगित हुनुको भित्रिपाटो अर्कै छ। अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले तीन कर्मचारी निलम्बन गरेर छानबिन समिति बनाएपछि काँग्रेस निकटका जनप्रतिनिधि रुष्ट छन्। काँग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गर्ने रणनीति बनाएको हल्ला चलेको छ। तर, प्रवक्ता मानन्धरले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको प्रतिक्रिया दिए।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए। यसै गरी प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई पनि कार्यालय प्रवेशमा रोक लगाइएको छ।
निलम्बनमा परेका कर्मचारीका बारेमा महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा बनेको समितिले छानबिन गर्न गरिरहेको छ। स्रोतका अनुसार बाहिर अन्य कारण बताइए पनि पछिल्लो समय महानगरमा मेयर, कर्मचारी र जनप्रतिनिधि बिच देखिएको टसलले नगरसभा प्रभावित भएको हो।