२७ जना सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, आज निर्णय हुन सक्ने - Chaitanya News
  • 2026-06-07
  • 10:26:06
  • आइतबार,जेठ २४, २०८३
  • २७ जना सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, आज निर्णय हुन सक्ने

    २७ जना सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, आज निर्णय हुन सक्ने

    काठमाडौँ– २७ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो।

    केही दिन अघि नै पठाइएको सूची आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सक्ने जनाइएको छ तर सामान्यको सूचीमा करेक्सनका लागि प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिवले पठाएको नामावलीबारे मन्त्रालयमा थप छलफल नभएकोले आज नै निर्णय हुन्छ भन्न सकिने अवस्था भने नभएको सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ।

    अहिलेको सरुवा सूचीमा प्रशासनिक भन्दा पनि प्राविधिक सहसचिवहरूको संख्या धेरै छ। जसमा प्रदेश जाने अवधि पुगेका सहसचिवहरू रहेका छन्। यद्यपि सचिवकै लाइनमा पुगिसकेका केही वरिष्ठ सहसचिवहरूलाई भने अहिले पनि सामान्यले सरुवा गरेको छैन। सामान्यकै सेटिङका कारण कतिपय सहसचिवहरू प्रदेशबाट प्रदेशमै घुम्न पाएका छन् भने कतिपयलाई प्रदेश जानै परेको छैन।

    केही समय अघि सरुवा सूची तयार गर्दा अहिलेसम्म प्रदेश नगएका र प्रदेशबाट संघ फिर्ता आउनु पर्ने सबै मिलाएर चार दर्जन जति पुगे पनि कैयन् पटकको ‘कैँची’ पछि २७ मा सहमति जुटाइएको थियो। पछिल्ला दिनहरूमा प्रणाली भन्दा ‘अनुहार’, ‘लाभ(हानी’ र ‘कनेक्सन’ हेरेर मिलान गर्ने चलन चलाइँदा प्रशासन दिनप्रतिदिन अद्योगतितिर लाग्दैछ।