काठमाडौँ– चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो।
यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ। यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ। विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ।
तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ। जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको तथ्याङ्क छ। यस्तै, नेपालबाट समेत न्यून मात्रामा यी वस्तुको निर्यात हुने गरेको छ।
यस अवधिमा नेपालबाट ४ करोड ६२ लाख रुपैयाँको दालमोट लगायतका वस्तुको निर्यात भएको छ। तथ्यांकअनुसार यी वस्तुको व्यापारमा नेपाललाई ३४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा छ।