गठबन्धन फराकिलो बहुमतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी - Chaitanya News
  • 2026-04-26
  • 02:14:40
  • शनिबार,बैशाख १२, २०८३
  • गठबन्धन फराकिलो बहुमतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

    गठबन्धन फराकिलो बहुमतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

    काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्।

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने बताए।
    उनले भने, ‘निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ। सरकार यही गठबन्धनले बनाउनेमा दुई मत छैन। चुनावपछि सरकारको स्थायित्व दिन्छौँ।’

    गठबन्धनको सरकार बनाउन गठबन्धनका सबै उम्मेदवारलाई मत दिन पनि पार्टीले निर्देशन दिएको उनले बताए। समानुपातिकमा गठबन्धन नभएको हुँदा पार्टीले सबै निर्वाचन क्षेत्रमा रुखमा भोट मागेको उनले बताए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीमा सहिष्णुता नदेखाएको महतले आरोप लगाए। उनले भने, ‘ओलीले आफ्नै पार्टीमा सहिष्णुता देखाएनन्। ओलीबाट छुट्टिएका दल हामीसँग छन्। ओलीको पार्टीमा असन्तुष्ट भएकालाई हामीले सहयोग गरेका छौँ।’