कुलपतिको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले रद्द गर्‍यो उपकुलपति पदको विज्ञापन - Chaitanya News
  • 2026-05-05
  • 10:25:50
  • मंगलबार,बैशाख २२, २०८३
  • कुलपतिको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले रद्द गर्‍यो उपकुलपति पदको विज्ञापन

    कुलपतिको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले रद्द गर्‍यो उपकुलपति पदको विज्ञापन

    काठमाडौ‌— त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आह्वान गरेको दरखास्त रद्द गरेको छ।

    समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्ने भनिए पनि उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको थियो।

    पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालिएको भन्दै विरोध भएपछि त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको हो।

    सूचनामा राखिएको अनुभवको त्यस्तो प्रावधानले योग्य मान्छेहरूका लागि ढोका बन्द हुने भन्दै तत्काल सच्याएर अर्को सूचना जारी गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए। उनले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राख्न निर्देशन दिएका छन्।