पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना - Chaitanya News
  • 2026-05-29
  • 03:39:10
  • बिहिबार,जेठ १४, २०८३
  • पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना

    पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना

    मकवानपुर– थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ। उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा फोटो प्रदर्शनी गरिएको हो।

    थाहा नगरपालिकाको आयोजनामा हेटौँडाको बुद्ध चोकमा २ दिने फोटो प्रदर्शनी सुरु गरिएको छ। शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले प्रदर्शनीको उद्घाटन गरेकी हुन्। प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

    बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तहहरू एकजुट हुन जरुरी रहेको उनको भनाई छ। हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै नै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रर्दशनीहरु आयोजना गर्ने तयारी गरिएको उनले बताइन्।

    फोटो प्रदर्शनीमा एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटोको राखिएको छ। प्रदर्शनी शनिबारसम्म चल्ने छ भने ५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।