काठमाडौँ– यसै महिना दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान्) ले टोलीको घोषणा गरेको छ। यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म सञ्चालन हुनेछ।
देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन्।
यसैगरी उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा छन्। यू–१९ विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहेको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। उक्त समूहमा नेपालसँगै पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान रहेका छन्। नेपाली टोलीले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ।
यसैगरी नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७ मा अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन्।
समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड परेका छन्। समूह ‘ए’ मा भने भारत, बंगलादेश, अमेरिका र आयरल्यान्ड रहेका छन्। पहिलो चरणको खेलको समाप्तिपछि प्रत्येक समूहबाट तीन–तीनवटा टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने १२ वटा टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ। ‘सुपर सिक्स’ चरणको एउटा समूहमा समूह ‘ए’ र समूह ‘डी’ बाट आएका ६ टोली समावेश हुनेछन्। ‘सुपर सिक्स’ चरणको दोस्रो समूहमा भने समूह ‘बी’ र समूह ‘सी’ बाट आएका ६ टोली रहने छन्।
‘सुपर सिक्स’ चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा विजयी हुने दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताका क्रममा कुल ४८ खेल खेलिने छ। यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो।
यसअघि यू–१९ विश्वकपको १४ वटा संस्करण सम्पन्न भइसकेको छ। यू–१९ विश्वकपको पहिलो संस्करण सन् १९८८ मा अस्ट्रेलियामा आयोजना भएको थियो। पहिलो संस्करणको फाइनलमा आयोजक अस्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो।
यसैगरी दोस्रो संस्करण सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । दोस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो। तेस्रो संस्करण सन् २००० मा श्रीलंकामा आयोजना भएको थियो । तेस्रो संस्करणको फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।
चौथो संस्करण सन् २००२ मा न्युजिल्यान्डमा आयोजना भएको थियो। चौथो संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो। पाँचौँ संस्करण सन् २००४ मा बंगलादेशमा आयोजना भएको थियो। पाँचौँ संस्करणको फाइनलमा पाकिस्तानले वेस्ट इन्डिजलाई २५ रनले पराजित गरेको थियो।
यसैगरी सन् २००६ मा श्रीलंकामा आयोजना भएको छैटौं संस्करणको फाइनलमा पाकिस्तानले भारतलाई ३८ रनले हराएको थियो। सन् २००८ मा मलेसियामा भएको सातौँ संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १२ रनले पराजित गरेको थियो। सन् २०१० मा न्युजिल्यान्डमा भएको आठौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई २५ रनले पराजित गरेको थियो।
यसैगरी सन् २०१२ मा अस्ट्रेलियामा खेलिएको नवौँ संस्करणको फाइनलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। सन् २०१४ मा यूएईमा भएको १०औँ संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।
यसैगरी सन् २०१६ मा बंगलादेशमा खेलिएको ११औँ संस्करणको फाइनलमा वेस्ट इन्डिजले भारतलाई पाँच विकेटले पराजित गरेको थियो। सन् २०१८ मा न्युजिल्यान्डमा भएको १२औँ संस्करणको फाइनलमा भारतले अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो।
सन् २०२० मा दक्षिण अफ्रिकामा खेलिएको १३ औँ संस्करणको फाइनलमा भने बंगलादेशले भारतलाई तीन विकेटले पाखा लगाएको थियो। यसका अतिरिक्त सन् २०२२ मा वेस्ट इन्डिजमा खेलिएको १४औँ संस्करणको फाइनलमा भारतले इङ्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो।
नेपालले भने हालसम्म सात पटक यू–१९ विश्वकप खेलिसकेको छ। नेपालले यो वर्ष आठौँ पटक यू–१९ विश्वकप खेल्न लागेको हो। नेपालले पहिलो पटक सन् २००० मा यू–१९ विश्वकप खेलेको थियो। सन् २०१६ पछि भने नेपालले यो प्रतियोगिता खेल्ने अवसर पाएको थिएन।
यू–१९ विश्वकपमा हालसम्म आफूले खेलेको कूल ४३ खेलमध्ये नेपालले २१ खेलमा जित र २१ खेलमा हारको नतिजा निकालेको छ। एक खेल भने अनिर्णित रुपमा सकिएको छ। सन् २००२ को यू–१९ विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो। प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बाबेले नेपाललाई एक सय ३७ रनले हराएको थियो।
यसैगरी नेपालले सन् २००६ मा प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो। त्यतिबेला नेपालले प्लेट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो। त्यसलगत्तै सन् २००८ को यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो।
प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजले नेपाललाई सात विकेटले पराजित गरेको थियो। त्यसयता भने नेपालले यू–१९ विश्वकपमा गतिलो छाप छाड्न सकेको छैन।