काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्पूर्ण निजी विद्यालयहरू ढिलोचाँडो शैक्षिक गुठीमा रूपान्तरण हुनैपर्ने बताएका छन्। आज (मंगलबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
हाल संसदीय समितिमा छलफलका क्रममा रहेको ‘शिक्षा विधेयक २०८०’ मा गुठीकरणबारे स्वेच्छिक व्यवस्था रहे पनि भविष्यमा सबै निजी विद्यालय सामुदायिकमा रूपान्तरण हुने अपेक्षा राखिएको सचिव अधिकारीले बताएका हुन्।
सचिव अधिकारीले नयाँ निजी विद्यालयहरू शैक्षिक गुठीका रूपमा स्थापना हुनुपर्ने र हाल सञ्चालनमा रहेकाहरू पनि क्रमशः त्यही मोडालिटिमा जाने अपेक्षा रहेको बताएका थिए।
सचिव अधिकारीले सामुदायकलाई सबलीकरण गर्दै निजीसरह बनाउँदा भविष्यमा सामुदायिक विद्यालय नै अभिभावकको प्राथमिकतामा रहने बताए। उनका अनुसार विधेयकमा शिक्षकहरू स्थानीय तहअन्तर्गत नै रहने व्यवस्था रहेको पनि स्पष्ट पारे। विधेयकको दफा १४० मा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट उल्लेख गरिएको उनले बताए।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयकमाथि नाम परिवर्तनसहितका एक सय ६५ वटा संशोधन प्रस्ताव परेका छन् । सचिव अधिकारीले यसमा सुधार गरे पनि पुनः लेखन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्।