पर्यटन पुनरुत्थानको वर्ष, कुन महिना कति पर्यटक भित्रिए? - Chaitanya News
  • 2026-05-29
  • 02:45:01
  • बिहिबार,जेठ १४, २०८३
  • पर्यटन पुनरुत्थानको वर्ष, कुन महिना कति पर्यटक भित्रिए?

    पर्यटन पुनरुत्थानको वर्ष, कुन महिना कति पर्यटक भित्रिए?

    काठमाडौं– कोभिड–१९ पछि प्रायः सुस्त रहेको नेपालको पर्यटन क्षेत्र तीन वर्षपछि पुनर्जागृत भएको छ। सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।

    सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गर्दै सुरुवाती वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। सरकारी लक्ष्य ३१ डिसेम्बर, २०२३ सम्ममा १० लाख १४ हजार ८७६ जना पर्यटक भित्रिएका छन्। यो मानेमा पर्यटक भित्र्याउने लक्ष्यमा सफल भएको छ।

    यो प्रि–कोभिड अर्थात् सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतको रिकभरी हो। सन् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजार १९१ (झन्डै १२ लाख) पर्यटक नेपाल भित्रिएका थिए।

    ग्राफमा (प्रि–कोभिड सन् २०१९ मा आगमन भएको पर्यटक सङ्ख्यासँगको तुलना)

    कुन देशबाट कति आए?

    पर्यटन बजारको हिसाबले छिमेकी मुलुक भारत र बंगलादेशी पर्यटकको आगमन यो वर्ष निकै उत्साहप्रद देखिएको छ। यो वर्ष भारतीय र बंगलादेशी पर्यटक सन् २०१९ को भन्दा पनि बढी आगमन भएको तथ्याङ्कले देखाएको छ।

    सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १५० जना पर्यटक आएका थिए। तर यो वर्ष सोही बजारबाट ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। सन् २०१९ को तुलनामा यो वर्ष भारतीय पर्यटक २५.८८ प्रतिशतले वृद्धि भएको हो।

    यसै गरी, सन् २०१९ मा जम्मा २५ हजार ८४९ जना मात्र बंगलादेशी पर्यटक आएकामा यो वर्ष ३२ हजार बढी नेपाल आएको बोर्डले जनाएको छ।

    सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल भित्रिएका छन्। यसअघि प्रि–कोभिड, सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक नेपाल आएका थिए।

    यो वर्ष अर्को छिमेकी मुलुक चीनबाट ६० हजार ८७८ जना पर्यटक नेपाल आएका छन्। यद्यपि, प्रि–कोभिडको तुलनामा सन् २०२३ मा चिनियाँ पर्यटकको सङ्ख्या ६४ प्रतिशतले घटेको हो। अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक नेपाल आएका थिए।

    यस्तै, अन्य तेस्रो मुलुकहरूबाट आउने पर्यटकको सङ्ख्यामा समेत सकारात्मक सुधार भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    कोभिडकालको तीन वर्ष फर्केर हेर्दा

    कोभिड–१९ विश्व महामारीको तीन वर्ष पर्यटन उद्योगका लागि निकै तिक्ततापूर्ण स्थितिबाट गुज्रियो। सन् २०२० को नेपाल भ्रमण वर्ष, सन् २०२१ र सन् २०२२ निकै कठिन बन्न पुग्यो। त्यसो त पर्यटन क्षेत्रका लागि मात्र नभएर यो तीन वर्ष अन्य आर्थिक, सामाजिक तथा कूटनीतिक क्षेत्र समेत निकै प्रभावित हुन पुग्यो।

    विश्व बजार नै कोरोना भाइरसको महामारीले सङ्कटग्रस्त हुँदा नेपालको पर्यटन बजार समेत प्रभावित भयो। जसका कारण यी तीन वर्षमा पर्यटक आगमन निकै न्यून हुन पुग्यो।

    तेस्रो पटक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ मुस्किलले २ लाख ३० हजार पर्यटक भित्र्याउन सकियो। भने पछिल्ला दुई वर्ष सन् २०२१ र २०२२ मा पनि कोभिड–१९ को प्रभाव क्रमशः १ लाख ४९ हजार ८३३ जना र ६ लाख १४ हजार १४८ जना मात्र पर्यटक भित्र्याउन सकियो।

    उसो त अघिल्लो वर्ष सन् २०२२ को तुलनामा यो वर्ष ६५ प्रतिशत बढीले नै पर्यटक आगमन वृद्धि हुन पुगेको छ।