खोटाङ– मंसिर ४ गते हुन् गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा खोटाङका विभिन्न राजनितिक दल आ–आफना चुनावी एजेण्डा लिएर घरदैलो गर्नमा व्यस्त छन्। तर अघिल्लो निर्वाचनका क्रममा गरिएका वाचा एवं प्रतिबद्धता पूरा नहुँदा मतदाता कुन नेतालाई मत दिने भन्ने कुरामा अन्योलग्रस्त छन्।
खोटाङमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ। विभिन्न पार्टी र स्वतन्त्रका गरी जम्मा आठ जनाको उम्मेदवारी परेको छ। दलहरुले अघिल्लो घोषण पत्रका वाचाहरु पूरा गर्न सकेका छैनन्। पहिलेका प्रतिबद्धता पूरा गर्न नसकेको र नयाँ योजना ल्याउन बाँकी रहेको भन्दै मतदातामा निराशा छ।
प्रत्येक निर्वाचनमा मतदाता ढाट्ने मात्रै गरी नेताहरुले लाज–सरम पचाएर तिनै घोषण पत्र दोहोर्याइतेहर्याई ल्याएका छन्। भौतिक विकासमा चित बुझाउने ठाउँ नरहेको तर भोटचाहिँ माग्ने गरेको मतदाताको भनाइ छ। शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता जनताका आधारभुत कुरासम्म पूरा गर्न नसकेको कतिपय मतदाताको भनाई छ। युवाको चाहना देशमा केही गर्न पाए हुन्थ्यो, बिदेशिनुपर्ने बाध्यता हटोस् भन्ने रहेको छ।
तर खोटाङमा स्वास्थ्यको कुरा गर्ने हो भने अहिले पनि खोटाङे जनताहरुले हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता विद्यमान छ। पिउने पानीको लागि ३ घण्टासम्म हिडेर बोक्नुपर्ने बाध्यता छ। शिक्षाको जुन प्रतिबद्धता लिएर आएका थिए, अहिलेसम्म त्यो पनि पूरा गर्न सकेका छैनन्। कतिपय ग्रामीण भेगका बालबालिका स्कुलसम्म जान पाएको छैनन्। नेताहरु भने वाचा गर्दै भोट माग्न आउँछन् तर गएपछि जिल्लामा नाकमुख नदेखाउने प्रद्धति रहेको भन्दै मतदातामा निराशा छाएको हो।
खोटाङमा यसपालीको निर्वाचनका लागि मतदाता संख्या १ लाख ४२ हजार ७ सय ९२ जना रहेका छन्।