काठमाडौं– नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई्) ले बताएको छ।
परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ।
नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्यांक सार्वजनिक गरेको हो।
‘सर्वेक्षणमा कच्चा पदार्थको मूल्य बढेको देखियो। माग ३६.९३ प्रतिशतले घटेको देखियो,’ प्रतिवेदन सार्वजनिक गर्दै परिसंघले भनेको छ, ‘कारोबारमा समेत ३०.५४ प्रतिशतले गिरावट भएको छ।
सरकारको साधारण खर्च बढेको र पूँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरु बढेको परिसंघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए।
अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ।
गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ।
यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढ्को र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ। सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।