साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य - Chaitanya News
  • 2026-05-29
  • 02:45:11
  • बिहिबार,जेठ १४, २०८३
  • साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

    साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

    काठमाडौँ– साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ। आज सोमबारदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो।

    यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो। आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो।

    दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ। साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भन्दै संघले आपत्ति जनाएको हो। दूतावासले नेपाली कामदारलाई बायोमेट्रिक गराएर थप आर्थिक भार पार्न खोजेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

    भारत र बङ्गलादेशमा समेत यसअघि साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो। भारत र बंगलादेशले विरोध भएपछि साउदी पछि हटेको थियो। ‘बायोमेट्रिकको नाममा श्रमिकहरू लामो समय काठमाडौँ बस्नुपर्छ। त्यसले उनीहरूको ठुलो खर्च हुन्छ। बायोमेट्रिक लागू गरेर दूतावासले सिन्डिकेट लाद्न खोजेको हो’ अध्यक्ष भण्डारीले भने ।

    संघले बायोमेट्रिक लागू गरेपछि भिसाका लागि कामदार नपठाउन व्यवसायीहरूलाई अनुरोध गरेको छ। आजदेखि कुनै पनि व्यवसायीले भिसाका लागि फाइलहरू साउदी दूतावासमा पठाएको पाइए कारबाही गर्ने चेतावनी समेत संघले दिएको छ।