काठमाडौं– प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।
सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए।
बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो। बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६, सोनी पाख्रिनले १४, हेलिशा गुरुङ र खुसी डंगोलले १०–१० रन बनाए।
सुदूरपश्चिमकी कृष्मा थापाले सर्वाधिक ३ विकेट लिइन्। लक्ष्मी साउद र ऋतु कनौजियाले समान २र२ विकेट लिए।
आइतबार नै भएको पहिलो खेलमा एपीएफले कोशीमाथि ५२ रनको जित निकाल्दै फाइनल पुगेको छ। फाइनल पुग्ने अर्को टिम कोशी र सुदूरपश्चिमबीचको खेलको बिजेता हुनेछ।