काठमाडौं– सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ।
६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो। एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो।
कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे। ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन्। ४८ बल खेलेकी काजलले ८ चौकाको मद्दतमा ५४ रन बनाइन्।
५५ बलमा ८ चौका हानेर ५१ रन बनाएकी रुबिना नट आउट रहिन्।
काजल आउट भएपछि ब्याटिङमा आएकी अप्सरी बेगम डकआउट भइन्। त्यसपछि विमला मलाहाले आफ्नो दोस्रो बलमा चौका हान्दै टिमलाई जिताइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। उसका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३९ बलमा ५ चौका प्रहार गरिन्। सम्झना खड्काले २७ रन बनाइन्। कविता जोशी २६ रेवती धामी २० मा अविजित रहिन्।
कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान १–१ विकेट लिए।
कोशीले ६ खेलमा एक मात्र हार बेहोरेको छ। कोशी एपीएफसँग ८ विकेटले पराजित भएको थियो।
प्रतियोगिताको दोस्रो हार व्यहोरको सुदूरको पनि प्ले अफ पुग्ने संभावना बलियो छ। यसअघि सुदूर एपीएफसँग ९ विकेटले पराजित भएको हो।