अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा - Chaitanya News
  • 2026-04-26
  • 00:22:54
  • शनिबार,बैशाख १२, २०८३
  • अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा

    अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहने बताएका छन्। चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप दुई–तीनवटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन्।

    प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए। “ओलीले संसद्लाई खेलौना ठानेर २र२ पटकसम्म संसद् विघटन गरे, हामीले संसद्लाई फिर्ता ल्यायौं,” उनले भने।

    सभापति देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दाबी गरे। देउवाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताए।

    उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने तर्क गरे। देउवाले ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची–महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताए। उनले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै मुलुकको हितका निम्ति निर्वाचनमा विजयीको झण्डा गाढ्नुपर्ने बताए। उनले संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै गठबन्धन बनेको भन्दै गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको दाबी गरे।