प्रधानमन्त्री कपमा मधेश र लुम्बिनी विजयी - Chaitanya News
  • 2026-06-07
  • 17:52:39
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कपमा मधेश र लुम्बिनी विजयी

    प्रधानमन्त्री कपमा मधेश र लुम्बिनी विजयी

    काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्।

    मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई २७ रनले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३० रनले हरायो। जितसँगै मधेशले चार खेलबाट दुई अङ्क बनाएको छ। तेस्रो हार खेपेको गण्डकीको पनि दुई अङ्क छ।

    मधेशले दिएको एक सय १३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटिएको थियो। गण्डकीका लागि सुमन खतिवडाले ४२ र शृष्टि जैसीले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बलिङमा मधेशका पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्क्षि यादवले एक एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको मौका पाएको मधेशले निधौरित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो। मधेशका लागि पूजा महतोले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाए। बलिङमा गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र शृष्टि जैसीले एकएक विकेट लिए ।

    यस्तै त्रिवि मैदानमा जितका लागि लुम्बिनीले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो। कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारुले २१, अन्जु गुरुङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाए। बलिङमा लुम्बिनीका सरस्वती पुन र कृतिका मरासिनीले दुई दुई तथा चमेली चौधरी र सर्मिला रोक्काले एक एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले अविजित ५३ रन बनाए। आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन जोडे। बलिङमा कर्णालीकी यमुना थारु, रश्मि खड्का र तिर्सना विश्वकर्माले एक एक विकेट लिए। जितसँगै लुम्बिनीले चार खेलबाट चार अङ्क बनाएको छ। चारै खेलमा पराजित कर्णाली अङ्कविहिन छ।