काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो।
पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ। थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ।
केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन्। उक्त निक्षेप सङ्कलन बोलकबोल पश्चात् सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहीँ पुस २५ गते हुनेछ।