काठमाडौं– अहिले हामी मध्य जाडोमा छौं। बढ्दो जाडोसंगै हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुन थालेको छ भने तराईमा हुस्सु तथा कुहिरोसंगै शितलहरको प्रकोपसमेत प्रारम्भ हुन थालेको छ।
तराईमा हुने शितलहरको चिसोबाट बच्नका लागि मानिसहरु दिनरात आगो ताप्छन्। यसरी लामो समय आगो ताप्नु स्वास्थ्यका लागि कत्तिको सही हो?
जाडो मौसममा घाम लागेको बेला अधिकांश मानिसहरु लामो समयसम्म घाममा बसिरहन मन पराउँछन्। यद्यपि, जाडोमा कति समयसम्म घाम ताप्नु उचित हो?
जाडोबाट बच्न आगो ताप्नु अथवा घाम ताप्नु कत्तिको सही हो र कहिले, कुन समयमा यो कार्य गर्नु सही हो?
आगो ताप्नु:
चिसोमा लामो समयसम्म अथवा दिनहुँ आगो ताप्नु हुन्छ भने यो तपाईँका लागि हानिकारक हुनसक्छ। किनभने आगोबाट निस्कने धुवाँले शरीरको कार्बन डाइअक्साइडको स्तर बढाएर अक्सीजनको स्तर कम गर्छ। जसले गर्दा शरीरमा रक्त कोशिकाको संख्या कम हुन्छ। यसो भयो भने विभिन्न रोग उत्पन्न हुन्छ। यसबाट आँखालाई नोक्सान पुग्छ, टाउको दुख्ने समस्या हुन्छ, फोक्सो सम्बन्धि रोग लाग्न सक्छ, छाला सम्बन्धि समस्या हुनसक्छ। एग्जिमा र सोराइसिसबाट पीडित मानिसले त आगो ताप्नबाट बच्नु पर्छ। त्यसैले आवश्यकताभन्दा बढी आगो ताप्नु राम्रो होइन। यदि ताप्नु नै परेमा कोइलाको प्रयोग गर्नु पर्छ, जसबाट धुँवा धेरै निस्कँदैन। जाडोबाट बच्नका लागि धेरै मानिस कोठामा आगो बालेर छाडिदिन्छन्, जुन जीवनका लागिसमेत खतरनाक हुन्छ।
घाम ताप्नु:
घाममा बस्ने अथवा ताप्ने पनि नियम हुन्छ। जुनसुकै मौसममा बिहान आठ बजेदेखि ११ बजेसम्म घाममा बस्दा शरीर तातो हुनुका साथै शरीरमा भिटामिन डीको पनि पूर्ति हुन्छ। त्यसपछि ११ बजेपछिको घाम ताप्नुको कुनै अर्थ रहँदैन। १२ बजे पछिको घाममा यूभी–सी अल्ट्रा भाइलेट किरणको प्रकोप बढ्छ, जुन शरीरका लागि नोक्सानदायक हुन्छ।
घाम ताप्नाले हाम्रो रक्त सञ्चार राम्रोसंग सञ्चालित हुन्छ, जसले चिसोमा रगत जम्ने खतरालाई कम गर्छ। घाम ताप्नाले शरीरमा कुनै पनि प्रकारको फंगल इंफेक्शनलाई पनि रोक्न सकिन्छ। त्यसैले गर्मीमा २० देखि २५ मिनेट र जाडोमा दुई घण्टा घाम ताप्नु फाइदाजनक हुन्छ।
हीटर:
रुम हीटरको अत्यधिक प्रयोगले मानिसले निस्सासिएको अनुभव गर्न सक्छ, किनभने यसले हावामा भएको अक्सिजनलाई कम गर्छ। त्यस्तै रुम हीटरले कार्बन मोनोअक्साइड जस्तो ग्यासको खतरा बढाउँछ। त्यसैले चिसोमा रुम हीटर बढी प्रयोग गर्नु हुँदैन। धेरै मानिस कोठामा हिटर खुल्ला राखेर छाडिदिन्छन् र सुत्छन्। यसो गर्दा निद्रामा कुन समयमा शरीरमा अक्सिजनको स्तर कम हुन्छ थाहा हुँदैन। यसो हुँदा निस्सासिएर मृत्युसमेत हुन सक्छ। हीटरले छाला, कपाल र आँखालाई सुख्खा बनाएर नोक्सान पुर्याउँछ। हीटर ताप्दा प्रतिरोधक क्षमता पनि कमजोर हुन्छ।