इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला वेस्ट इन्डिजले जित्यो - Chaitanya News
  • 2026-06-07
  • 17:52:51
  • आइतबार,जेठ २४, २०८३
  • इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला वेस्ट इन्डिजले जित्यो

    इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला वेस्ट इन्डिजले जित्यो

    काठमाडौँ– इङ्गल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला वेस्ट इन्डिजले जितेको छ। पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले हराउँदै शृङ्खला ३—२ ले जितेको हो।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो। इङ्गल्यान्डका लागि ओपनर फिल साल्टले ३८ रन बनाए। लियाम लिभिङस्टोनले २८ र मोइन अलीले २३ रन जोडे।

    वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले तीन विकेट लिए। जासन होल्डर, अकेल होसैन र आन्द्रे रसेलले पनि दुई–दुई विकेट हात पारे। जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो।

    वेस्ट इन्डिजका लागि साई होपले अविजित ४३ रनको योगदान गरे। सेरफन रुथरफोर्डले पनि ३० रन बनाए। ओपनर जोन्सन चार्लिसले २७ रन जोडे। इङ्गल्यान्डका बलर रिसे टपली र अदिल रसिदले दुई–दुई विकेट हात पारे। वेस्ट इन्डिजका गुडाकेस मोटी प्लेयर अफ दी म्याच र इङ्गल्यान्डका फिल साल्ट प्लेयर अफ दी सिरिज घोषित भए।