काठमाडौँ– अधिकांश मान्छेलाई चकलेट मन पर्छ। चकलेट मन नपराउने व्यक्ति कमै होलान्। केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ। डार्क चकलेट भनेको अन्य खालको चकलेटको तुलनामा कोको धेरै हुने अनि चिनी कम हुने चकलेट हो। यसमा ७० प्रतिशत वा सोभन्दा धेरै कोको हुन्छ। मिल्क चकलेटको तुलनामा यो चकलेट धेरै लाभदायक मानिन्छ अनि यसमा गुलियो पनि धेरै हुँदैन। यसको सेवनले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदा पुर्याउँछ। यसलाई सीमित मात्रामा खानु निकै फाइदाजनक मानिन्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अध्ययनका अनुसार चकलेटमा मस्तिष्कको कार्य प्रणालीलाई सुधार्ने केही गुण हुन्छ। यसले मानसिक स्वास्थ्य कायम राख्न पनि मद्दत गर्ने बताइएको छ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार चकलेटमा कोको फ्लेवेनल्स हुन्छ। यसमा भएको तत्त्वले मस्तिष्कमा ध्यान, स्मृति र काम गर्ने क्षमतालाई बढाउन सक्छ। फ्लेवेनल्स एन्टिअक्सिडेन्ट हो। जसले शरीरमा अक्सिडेटिव तनावलाई घटाउँछ र सुन्निएको पनि कम गर्छ।
मुटुको स्वास्थ्य सुधार्छ:
डार्क चकलेटले रक्त चाप कम गर्छ। एलडीएल कोलेस्ट्रललाई घटाउँछ, एचडीएल कोलेस्ट्रोको स्तर बढाउँछ अनि रक्त सञ्चारमा सुधार ल्याउन मद्दत गर्छ। यसले मुटुलाई स्वस्थ बनाउन योगदान दिन्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ।
छालाको स्वास्थ्यमा सुधार:
डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्टले छालालाई परावैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ। डिहाइड्रेशनबाट बच्न र कोलेजन उत्पादनमा बढवा दिन मद्दत गर्छ। यसका कारण छाला स्वस्थ र चम्किलो हुन्छ भने बुढ्यौलीका लक्षणहरू पनि कम हुन सक्छ।
भरपूर एन्टिअक्सिडेन्ट:
डार्क चकलेटमा एन्टिअक्सिडेन्ट खासगरी फ्लेवोनोइड्स टन्नै हुन्छ। जसले शरीरमा मुक्त कणसँग लड्न र अक्सिडेटिभ तनावलाई काम गर्न मद्दत गर्छ। यसले मुटुको समस्या र क्यान्सरजस्ता पुराना रोगलाई रोक्न पनि मद्दत गर्न सक्छ।
तौल व्यवस्थापन:
डार्क चकलेटमा क्यालोरी त धेरै हुन्छ। तर यसमा फाइबर पनि निकै धेरै हुन्छ। कसैले यसको सेवन गर्छ भने फाइबरको कारण उसलाई कम भोक लाग्छ अनि अनहेल्दी स्न्याक्स खाइरहने लत पनि बस्दैन।
मस्तिष्कको कार्यक्षमतामा वृद्धि:
डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ। जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ।
मूड बुस्ट गर्छ:
डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ। जसले गर्दा व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ। यसमा सेरोटोनिन पनि हुन्छ। जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ।
तनाव घटाउँछ:
डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ। यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउँछ।