भूकम्प पीडितलाई राहत नपुग्दा खुला चौरमा रात बिताउन बाध्य - Chaitanya News
  • 2026-04-22
  • 06:05:48
  • बुधबार,बैशाख ०९, २०८३
  • भूकम्प पीडितलाई राहत नपुग्दा खुला चौरमा रात बिताउन बाध्य

    भूकम्प पीडितलाई राहत नपुग्दा खुला चौरमा रात बिताउन बाध्य

    डोटी– डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु खुला चौरमा रात बिताउन बाध्य भएका छन्।

    त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताएका छन्। पोली हाउस भएकाहरु भने त्यहीँ बसेका छन्। भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका भरत बोहोराले बताए। उनका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन्।

    जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उनले गुनासो गरे। भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न वितरण गरे पनि त्यो अपुग भएको छ।

    भूकम्प पीडित खडकबहादुर बोहोराले भन्नुभयो, ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, हाम्रा पीडा कस्ले सुन्ने।’ त्यहाँका जगतबहादुर बोहोराले न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठ्याङ्ग्रिने गरेका बताए।

    अस्थायी रुपमा भए पनि टहराको व्यवस्था गरिदिन पीडितहरुको माग छ। भूकम्पको पीडाले किसानले खेतमा पाकेको धान काट्न र कोदो टिप्नसमेत सकेका छैनन्। पाकेको बाली खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरु बताउँछन्। विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्बल आइपुगेकाले सम्भवतः आजै वितरण गरिने बताए।

    उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतको लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौँ।’

    बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि यस गाउँका ६ जनाको ज्यान गएको छ। ७ जना घाइते भएका छन्। भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने दर्जनौँ घरमा आ‌शिक क्षति पुगेको छ।