काठमाडौँ– नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ। आज (मंगलबार) संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको उल्लेख छ।
तर, हाल बजारमा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भैरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
‘नेपाल आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर (१४.२ केजीको) रु १,८९५ मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य विल लिन आम उपभोक्ताहरूमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ।
निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैर कानूनी भएकाले त्यस्तो कार्य नगर्न नगराउनु सम्बन्धित सबैमा पनि संघले जानकारी गराएको छ। कानून विपरित ग्यास विक्री गरेको पाईएमा सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउन पनि संघले आम उपभोक्ताहरूमा सूचित गरेको छ।