यो वर्ष पनि संघीय सरकार ७९ अर्ब ५ करोड बजेट घाटामा - Chaitanya News
  • 2026-07-13
  • 05:43:02
  • आइतबार,आषाढ २८, २०८३
  • यो वर्ष पनि संघीय सरकार ७९ अर्ब ५ करोड बजेट घाटामा

    यो वर्ष पनि संघीय सरकार ७९ अर्ब ५ करोड बजेट घाटामा

    काठमाडौं – बजेट कार्यान्वयनको स्थितिमा यो वर्ष पनि संघीय सरकार घाटामा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको हो।

    तर, यता खर्चतर्फ यसै अवधिमा सरकारले ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गरिसकेको छ। तथापि, यो पनि सन्तोषजनक खर्च भने होइन।

    आर्थिक वर्षको मङ्सिर २५ गतेसम्म २५ प्रतिशत बजेट खर्च गरेको सरकारले राजस्व सङ्कलनको हिसाबले ७९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ।

    आम्दानी (राजस्व)

    आर्थिक वर्षको मङ्सिर २५ गतेसम्ममा सरकारले लक्षित राजस्वको २४.३९ प्रतिशत सफलता हासिल गरेको छ। राजस्व, गैर–राजस्व, अनुदान तथा अन्य आयस्रोतबाट कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको लक्ष्य राखेकोमा हालसम्म ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ सङ्कलन भएको हो।

    महालेखा नियन्त्रण कार्यालयका अनुसार समीक्षा अवधिमा राजस्वतर्फ ३ खर्ब ३८ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ भने अनुदानतर्फ २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।

    खर्च (बजेट कार्यान्वय)

    यसैगरी यता बजेट खर्चतर्फ सरकारले मङ्सिर २५ गतेसम्म २५ प्रतिशतकै उपलब्धि हासिल गरेको छ। चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले समीक्षा अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गर्न सकेको हो।

    जसमध्ये चालु खर्चतर्फ अधिकतम ३ खर्ब ४७ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको (लक्षित खर्चको ३०.४१ प्रतिशत) खर्च भएको छ भने पुँजीगत तर्फ जम्मा ३४ अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ। यो लक्षित खर्चको जम्मा ११.२८ प्रतिशत मात्र हो।

    सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ कूल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ।