काठमाडौँ– यु–१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल२ मा बिहान सवा ११ बजेदेखि सुरु हुने खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवाती ब्याटिङ गर्न लागेको हो।
समूह ‘ए’ मा रहेको भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरुद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।
नेपाल भने समूह चरणको दुवै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अङ्क तालिकामा पाकिस्तान ४ अङ्कसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २(२ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ। समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन।
आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ। अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि आजै सवा ११ बजे सुरु हुनेछ।