कर्मचारीले पाउने सुविधाका विषयमा विवाद, बैंक खाता रोक्का - Chaitanya News
  • 2026-07-13
  • 05:44:46
  • आइतबार,आषाढ २८, २०८३
  • कर्मचारीले पाउने सुविधाका विषयमा विवाद, बैंक खाता रोक्का

    कर्मचारीले पाउने सुविधाका विषयमा विवाद, बैंक खाता रोक्का

    काठमाडौँ– आम्दा अस्पतालको बैंक खाता रोक्का भएको छ। अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा खाता रोक्का गरिएको हो।

    २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय झापाले एशोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल (आम्दा नेपाल) को बैंक खाता रोक्का गरेको हो।

    विराटनगर महानगरपालिका–४ का श्यामप्रसाद न्यौपानेले आम्दा नेपालले झापामा सञ्चालन गरेको आम्दा अस्पतालमा काम गरेका थिए। अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवा सुविधा नपाएपछि उनी उजुरी लिएर श्रम कार्यालय पुगेका थिए। उपदानको विवाद श्रम अदालत काठमाडौँसम्म पुगेको थियो।

    अदालतले न्यौपाने सेवाबाट अवकाश भए पनि सम्बन्धित कार्यालयले श्रमिकको हिसाब फरफारक नगरी भुक्तानी नदिएको पाइएकोले श्रम ऐनको दफा १४८ (३)बमोजिम सेवामा बहाल रहेको मानी भुक्तानी हुने दिनसम्मको पारिश्रमिकसमेत उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो।

    अदालतको फैसला कार्यान्वयन गर्न आम्दाले नमानेपछि श्रम कार्यालय झापाले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी आम्दा नेपालको देशभरको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गरेको हो।