काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।
दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन्। घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुनुहुन्छ। पच्चीस वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुन्। उनले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनएकी छिन्। दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन्। देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ।
क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र (ख) मा ६४ हजार चार सय ६६ मतदाता छन्। क्षेत्र नं (क) मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ। क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए।
क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी छन्। शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाएकी छिन्।
नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छिन्। क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा हुनुहुन्छ । क्षेत्र नं २ (क) मा ६३ हजार तीन सय २२ तथा (ख) मा ७० हजार चार सय २६ मतदाता छन्। क्षेत्र नं २ ९क० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ (ख) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसक केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन्। दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ। पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन्। क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै हुन्। क्षेत्र नं ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन्। एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ।