योगका लागि उत्तम समय - Chaitanya News
  • 2026-05-06
  • 20:51:38
  • बुधबार,बैशाख २३, २०८३
  • स्वस्थ रहनका लागि योग गर्न जरुरी छ । यसले मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन्छ। तर, सही विधिअनुसार योग गर्न सकिएन भने यसका साइड इफेक्ट देखिन्छन्। त्यसैले हामीले कुनै पनि योगासन गर्नुअघि योग प्रशिक्षकसँग त्यसबारे आधारभूत जानकारी लिनु राम्रो हुन्छ।

    समय: योग गर्नका लागि बिहान–साँझको समय उत्तम हुन्छ। बिहान खाना खानुअघि र बेलुकी खाना खानुअघि गर्नुपर्छ। खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुहुँदैन। खाना खाएको कम्तीमा तीन–चार घन्टापछि गर्नुपर्छ।

    स्थान: योग गर्न शान्त र स्वच्छ ठाउँको जरुरी हुन्छ । धुलोधुवाँ नभएको ठाउँमा गर्नुपर्। यसका लागि होहल्ला नहुने ठाउँ आवश्यक पर्छ। कौसी, खुला कोठा, बगैँचालगायतका ठाउँमा योग गर्नु राम्रो हुन्छ।

    श्वासप्रश्वासमा ध्यान: योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ। आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ। जति सचेत भएर गरिन्छ, त्यसले त्यति नै बढी फाइदा गर्छ।

    शारीरिक अवस्था: योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर गर्नु राम्रो हुन्छ। खासगरी, भर्खर शल्यक्रिया गरिएको मान्छेले योग गर्नुहुँदैन। अन्य स्वास्थ्य समस्या देखिएका मानिसले कुन योगासन गर्ने भनेर प्रशिक्षकसँग सल्लाह लिनुपर्छ। किनकि, सबै आसन सबैका लागि उपयोगी हुँदैनन्।