काठमाडौँ– सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन १५ गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिले यस्तो सहमति गरेका हुन्।
एन्फा र ‘सी’ डिभिजनका प्रतिनिधिबिच बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ‘सी’ डिभिजन लिग सञ्चालन गर्ने विषयमा वार्ता भएको थियो। सोही वार्ताबाट फागुन १५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने सहमति जुटेको हो।
आगामी ‘सी’ डिभिजन लिग सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। छलफलमा १३ वटा ‘सी’ डिभिजन क्लबका प्रतिनिधिको उपस्थित रहेको थियो। छलफलमा एन्फाको तर्फबाट महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाहलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी हुने ‘सी’ डिभिजन क्लबलाई एन्फाले तयारी खर्चवापतको बाँकी रकम पनि भुक्तानी गर्ने सहमति भएको छ। क्लबहरुले तयारी खर्चवापत नौमध्ये चार लाख ५० हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ।