काठमाडौं– टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने बताएको छन।
आज (बुधबार) अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने उनको भनाइ छ। प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको उनले स्पष्ट पारे।
प्राधिकरणले पठाएको पत्रको जवाफ पनि मंगलबार नै आइसकेको उनले बताए। जवाफमा एनसेलले नियामका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको खनालले बताए।