सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा - Chaitanya News
  • 2026-11-19
  • 12:20:03
  • बिहिबार,मंसिर ०४, २०८३
  • सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा

    सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा

    काठमाडौं– सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ। सुर्खेत, दैलेख लगायतका जिल्लामा वर्षा पनि भएको छ।

    सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेले बताए। उनका अनुसार हिमपातका कारण अत्यधिक चिसो बढेको छ।

    सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ। दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन्।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ। मौसमविद सरोज पुडासैनीले भने, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो। यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको उनले बताए।

    मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ। कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ।

    काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ। काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने ‘एकदम कम’ रहेको मौसमविद पुडौसैनीले बताए।