एक सय ९० पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित - Chaitanya News
  • 2026-05-04
  • 10:29:19
  • सोमबार,बैशाख २१, २०८३
  • एक सय ९० पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित

    एक सय ९० पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित

    काठमाडौँ– प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित बनेका छन्। प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित भएको हो।

    पालिकामा प्रमुख प्रशासकीय अधिकृत सङ्घअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ। तर, मन्त्रालयका अनुसार अहिले एक सय चार नगरपालिका, ८० गाउँपालिका र ६ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन्। रिक्त हुने क्रम बढ्दै गएको मन्त्रालयले जनाएको छ। प्रमुख प्रशासकीय रिक्त रहेका अधिकांश पालिका निमित्तका भरमा चलेका छन्।

    उपसचिवको दरबन्दी हुने नगरपालिकामा वरिष्ठ शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकेर पठाइएको छ। करिब ५० नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकिएको छ। त्यस्तै, सहसचिव दरबन्दी हुने ११ उपमहानगरमध्ये ६ वटामा उपसचिवलाई जिम्मेवारी दिइएको छ। प्रमुख प्रशासकीय नहुँदा आर्थिक कारोबार नै बन्द हुन्छ। निमित्तलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिएर समस्या टालटुल पार्दै आएको छ। कतिपय पालिकामा त निमित्त पनि छैनन्।