काठमाडौँ– भन्सार विभागले चालू आर्थिक वर्ष २०८०–८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको जानकारी दिएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो।
यस अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ। यस अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ। जसमध्ये सबैभन्दा धेरै हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
यस्तै, चीनमा १८ करोड ३० लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा ३ करोड ८ लाख रुपैयाँको निर्यात भएको छ। यसबाहेक, सिंगापुरमा १ करोड २८ लाखको निर्यात हुँदा भियतनाममा ३ करोड ४० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ।
यस्तै, नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकामा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ।