काठमाडौँ– कमजोर व्यवस्थापनका कारण द्रुत बस सेवा सञ्चालन समस्यामा परेको छ।
संविधान दिवसको दिन असोज ३ मा तामझामका साथ शुरु भएको द्रुत बस सेवा एक महिनामै बन्द भएको थियो। उचित व्यवस्थापन गर्न नसक्दा दशैंअघि नै बन्द भएको द्रुत बस सेवा फेरि ‘वानवे’ चलाउने गरी सञ्चालनमा आएको हो।
यात्रुको चापलाई मध्यनजर गरी ‘वानवे’ मोडालिटीमा बस सञ्चालन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। बिहान उपत्यका छिर्नेको चाप धेरै हुन्छ भने बेलुका घर फर्कनेको चाप धेरै हुन्छ। बिहान सूर्य विनायकबाट रत्नपार्कतर्फ र बेलुका रत्नपार्कबाट सूर्य विनायकतर्फ प्राथमिकतामा राखेर ‘वानवे’ मोडालिटीमा द्रुत बस सेवा सञ्चालन भएको हो।
यातायात व्यवस्था विभागका अनुसार बिहानमा सूर्य विनायकबाट रत्नपार्कलाई प्राथमिकतामा राखिएको छ भने बेलुका रत्नपार्कबाट सूर्य विनायकलाई प्राथमिकतामा राखिएको छ। ‘दुवैतर्फ ट्राफिकलाई राखेर म्यानुअल्ली म्यानेज गर्न गाह्रो भएकाले बिहान सूर्य विनायकबाट रत्नपार्कतर्फ जाने र बेलुका रत्नपार्कबाट सूर्य विनायकतर्फ जाने बसलाई प्राथमिकतामा राखिएको हो,’ विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले भने।
सुरुवातीमा सूर्य विनायक र रत्नपार्कबाट एकै समयमा छुट्दै आएका बस अब एकै समयमा नछुटेर प्राथमिकताका आधारमा छुट्ने छन्। बिहान सूर्य विनायकबाट आएपछि मात्र रत्नपार्कबाट छुट्ने छ भने बेलुका रत्नपार्कबाट गएपछि मात्र सूर्य विनायकतर्फबाट बस छुट्ने छन्।
द्रुत बस बिहान सूर्य विनायकबाट साढे ८ देखि १०ः१५ बजेसम्म र बेलुका रत्नपार्कबाट साढे ३ देखि ५ः१५ बजेसम्म छुट्ने छन्। अन्य सवारी साधनलाई पनि असर पर्ने देखिएकोले सवारी चापका आधारमा प्राथमिकता दिइएको विभागले जनाएको छ।
द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ। सडक डिभिजन कार्यालय काठमाडौँ अन्तर्गत १ करोड २४ लाख ७७ हजार रुपैयाँ र सुर्यविनायक–धुलिखेल–सिन्धुली(बर्दिबास सडक आयोजना अन्तर्गत करिब १ करोड २० लाख रुपैयाँ खर्च भएको छ।
बिल भुक्तानीका लागि कम्पनीहरू सडक डिभिजन कार्यालयमा धाउन थालेका छन्। यद्यपि, भुक्तानी भइसकेको छैन। फाइल अर्थ मन्त्रालयमै अड्किएका कारण भुक्तानी हुन नसकेको हो। द्रुत बस सेवा सञ्चालन गर्न हतारमा गरिएको निर्णय कार्यान्वयन गर्न अहिले ‘तातो आलु निल्नु न ओकल्नु’ जस्तै भएको छ।