काठमाडौं– अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
आज (शुक्रबार) एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो।
डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ। डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ।
जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ।
आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ। नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ। यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ भने स्वदेशमा ती वस्तुको मूल्य समेत बढ्न जान्छ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ। उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ।
डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ। त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ। समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ।