काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएका छन।
देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र सङ्कट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ। तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्तिसँग नरहेको केसीले बताए।
‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मङ्गलवार विज्ञप्तिमार्फत भनेका छन्।
अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ। ७ मङ्सिरमा राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने राजमोको निष्कर्ष छ।
‘गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ’, केसीले भनेका छन्।